नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा अभिनेत्री नीति शाह र राष्ट्रिय क्रिकेट टोली नियुक्त
काठमाडौं : मुलुकको अग्रणी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले अभिनेत्री तथा मोडल नीति शाहलाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र अभिनेत्री शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सोही समारोहमा नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई पनि आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको घोषणा गरेको छ।
ब्रान्ड प्रवर्द्धनमा सहकार्य
यस सम्झौतासँगै अभिनेत्री शाहले नेपाल टेलिकमले प्रदान गर्दै आएका विभिन्न दूरसञ्चार सेवा, सुविधा, र डिजिटल उत्पादनहरूको प्रचारप्रसार तथा ब्रान्ड प्रवर्द्धनसम्बन्धी कार्यमा सहकार्य गर्नेछिन्।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक संगीता पहाडीले मनोरञ्जन क्षेत्रकी चर्चित हस्ती र खेलकुदका चम्किला नक्षत्र (क्रिकेट खेलाडीहरू) लाई एकसाथ जोड्न पाउँदा खुसी व्यक्त गरिन्। उनले भनिन्, “मनोरञ्जन र खेलकुद क्षेत्रका स्थापित व्यक्तित्वहरूको यो आबद्धताले युवापुस्ता लगायत सम्पूर्ण नागरिकसँग नेपाल टेलिकमको सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउनेछ।”
गौरवान्वित महसुस गर्दैछु : नीति शाह
देशको सबैभन्दा ठूलो र स्वदेशी लगानीको विश्वासिलो दूरसञ्चार संस्थासँग आबद्ध हुन पाउँदा अभिनेत्री नीति शाहले ठूलो गर्व महसुस भएको बताएकी छिन्। टेलिकमसँगको सहकार्यले आफ्नो व्यावसायिक यात्रामा नयाँ ऊर्जा थपेको उनको भनाइ छ।






























