काठमान्डौ । नेपाली मौलिक संस्कृति, पौराणिक कथा र तिहारको सांस्कृतिक महत्त्वलाई समेट्दै गायक तथा सर्जक जित सागर रावतले ‘दानी भाइ’ नामक नयाँ देउसी–भैलो गीत सार्वजनिक गरेका छन्। तिहारको देउसी–भैलो परम्परालाई मनोरञ्जनसँगै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक कथासँग जोड्ने उद्देश्यले गीत तयार गरिएको हो।
बलिराजाको पुनर्जन्मसँग जोडिएको पौराणिक कथालाई आधार बनाएर तयार गरिएको यस गीतमा दानी भाइको भैलो मा हालै भाद्र १० गते गएको बिनास कारि बाढि बाट मृत्यु भएका सम्पूर्ण मृतक प्रति सम्झनामा कथालाई सांगीतिक तथा दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ।
गीतको कथाअनुसार जुवा खेल्ने क्रममा स्वर्गलोक पुगेका ज्वारे भाइलाई एक दिनका लागि इन्द्रको राजा बनाइन्छ। एक दिनको राजा बनेपछि उनले स्वर्गलोकको धन–सम्पत्ति, गरगहना तथा दान–दक्षिणा सबै बाँडिदिन्छन्। इन्द्र फर्किएर आउँदा आफ्नो सम्पत्ति बाँडिएको देखेपछि ज्वारे भाइलाई श्राप दिन्छन्। त्यसपछि अर्को जन्ममा पनि धन–सम्पत्ति र सुख–शान्ति प्राप्त गर्न नसकी बलिराजाका रूपमा जन्म लिनुपर्ने कथालाई गीतमा प्रस्तुत गरिएको छ।
गीतमा शान्तिश्री परियार र जित सागर रावतको स्वर रहेको छ। गीतका शब्द तथा संगीत स्वयं रावतले तयार गरेका हुन् भने संगीत संयोजन सुदीप सागरले गरेका छन्। गीतको मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन्। प्रिज्मा डिजिटल स्टुडियोमा तयार गरिएको गीतको सह–निर्देशन जित सागर रावत र निर्देशन समीर ठोकरले गरेका छन्।
गीतको भिडियोमा कविता न्यौपाने, गोविन्द पहाडी, सुर्बिर पण्डित (दारी बा), लक्ष्मी गिरी, झुपेन्द्र रोकाया र तिलक बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ। भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् भने सम्पादन तथा रङ संयोजन प्रवीण भट्टले गरेका छन्।
देउसी–भैलो केवल मनोरञ्जन र रमाइलोको माध्यम मात्र नभई यसभित्र लुकेका पौराणिक कथा, परम्परा र सांस्कृतिक महत्त्वलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने सन्देश गीतले दिने अपेक्षा गरिएको छ। मौलिक नेपाली लोकसंस्कृति र तिहारको परम्परालाई फरक कथावस्तुमार्फत प्रस्तुत गरिएको ‘दानी भाइ’ गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास सर्जक रावतले लिएका छन्।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।





























