डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य छन्।

इलाममा २५औँ पटक आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले वार्ता समिति गठन गरेको हो। स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। हाल उनी थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

डा. केसीले यसपटक चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित ६ बुँदे माग अघि सारेका छन्। आवश्यक पूर्वाधार र जनशक्ति नपुगेको अवस्थामा कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने उनको माग छ।

त्यस्तै, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्।