बाढीपछि रोकिएका ‘समर लभ’ र ‘सेतो धरती’ नाटकको मञ्चन शुक्रबारदेखि पुनः

प्राकृतिक विपद्ले रोकिएका कान्तिपुर थिएटरका दुई नाटक ‘समर लभ’ र ‘सेतो धरती’ आजदेखि पुनः मञ्चन हुँदै

काठमाडौं : प्राकृतिक विपत्तिका कारण केही दिनदेखि स्थगित भएका कान्तिपुर थिएटरका दुई चर्चित नाटक ‘समर लभ’‘सेतो धरती’ आज शुक्रबारदेखि पुनः मञ्चनमा आएका छन्।

भोटेकोशी बाढीको विपत्तिलाई मध्यनजर गर्दै दर्शक तथा कलाकारहरूको सुरक्षाका लागि यी नाटकहरूको मञ्चन अस्थायी रूपमा रोकिएको थियो। पुनर्सञ्चालनपछि नाटकहरू निर्धारित स्थानमा नै देखाइनेछन् :

  • ‘समर लभ’ : काठमाडौंको गैह्रीधारास्थित कान्तिपुर थिएटर।

  • ‘सेतो धरती’ : पोखराको गैह्रापाटनस्थित पोखरा थिएटर।

उत्साहजनक प्रि-बुकिङ र सामाजिक उत्तरदायित्व

आयोजकका अनुसार हाललाई यो साताका लागि मात्र चार दिनको शोको बुकिङ खुला गरिएको छ र दर्शकहरूको तर्फबाट प्रि-बुकिङ अत्यधिक उत्साहजनक देखिएको छ।

यसअघि सामाजिक उत्तरदायित्व बहन गर्दै नाटकको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरिएको थियो।

‘समर लभ’ को सफलता

लेखक सुविन भट्टराईको सर्वाधिक चर्चित उपन्यासमा आधारित प्रेमकथात्मक नाटक ‘समर लभ’ गत साउन २९ गतेदेखि मञ्चन सुरु भएको हो। पहिलो दिनदेखि नै दर्शकको निरन्तर साथ पाइरहेको यस नाटकको काठमाडौंमा हालसम्म ३१ वटा शो सफल रूपमा सम्पन्न भइसकेका छन्। विपद्का कारण केही समय रोकिए पनि दर्शकहरूको माग र उत्साहका कारण नाटकले फेरी दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ।