‘जलाकी’मा साहारा हाङमा लिम्बुको क्यारेक्टर कस्तो ?

बुवाको सपना र आँसुको सङ्घर्षबीच ‘जलाकी’ बाट रजतपटमा चम्किँदैछिन् सिक्किमकी साहारा हाङमा लिम्बु

काठमाडौं : ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा तयार भएको प्रतीक्षित फिल्म ‘जलाकी’ बाट घरेलु चलचित्र उद्योगमा अभिनय डेब्यू गर्न लागेकी अभिनेत्री साहारा हाङमा लिम्बुको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले उनको सोलो पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा उनी मगर समुदायको सांस्कृतिक पहिरनमा प्रसन्न मुद्रासँगै गम्भीर र सोचमग्न देखिएकी छन्। फिल्ममा उनले ‘ओपन माइन्डेड’, आधुनिक सोच बोकेकी, पोखराकी एक सफल तथा स्वतन्त्र व्यवसायी महिलाकी छोरीको चरित्र निर्वाह गरेकी छन्।

सौन्दर्य प्रतियोगितादेखि मण्डला थिएटरसम्म

सिक्किमकी साहाराले यसअघि नै विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा आफ्नो वर्चस्व स्थापित गरिसकेकी छन्। उनी ‘मिस टिन इन्डिया २०२२’‘मिस टिन २०२२’ की विजेता हुन् भने ‘मिस टिन युनिभर्स २०२२’ मा समेत सहभागिता जनाइसकेकी छन्। त्यस्तै, मिस बेस्ट र्‍याम्पवाक सिक्किम, मिस कन्जेनियालिटी इन्डिया, अन्तर्राष्ट्रिय किशोर प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने पहिलो उत्तरपूर्वी किशोरी र ‘मिस इन्डिया सिक्किम २०२४’ मा पनि उनको सहभागिता रहेको थियो।

मण्डला थिएटरमा अभिनयको विधिवत प्रशिक्षण लिएकी उनी अडिसनमार्फत ‘जलाकी’मा छनोट भएकी हुन्।

छायांकनका बेला बुवाको वियोग र अविश्वसनीय सङ्घर्ष

साहाराको चलचित्र यात्रा जति चम्किलो छ, यसको पछाडिको भोगाइ त्यत्तिकै मर्मस्पर्शी र कठिन छ। फिल्मको छायांकन चलिरहँदा कार दुर्घटनामा परी उनका बुवाको निधन भयो। काठमाडौं आउनुअघि उनले बुवालाई भेटेकी थिइन्, जुन उनको जीवनको अन्तिम भेट बन्न पुग्यो।

त्यस पीडादायी क्षणलाई सम्झँदै साहारा भन्छिन्, “मैले जलाकीमा काम गर्ने पक्का भएपछि सुरुमा बाबालाई भनेकी थिएँ। उहाँ एकदमै खुसी हुनुभएको थियो। बाबाले ‘अर्को पटक तिमी अभिनेत्री भएर फर्किन्छौ, म तिमीलाई यही बाटोमा खादा लिएर स्वागत गर्न आउने छु’ भन्नुभएको थियो, तर त्यो सपना अधुरै रह्यो।”

बुवाको अन्तिम संस्कार सकेको जम्मा ४ दिनमै उनी आफ्नो कामप्रति प्रतिबद्ध भएर पुनः सुटिङ सेटमा फर्किएकी थिइन्। “मलाई सिल्भर स्क्रिनमा हेर्ने सपना मेरोभन्दा पनि ठूलो बुवाको थियो। म बुवाको सपना अधुरो रहोस् भन्ने चाहँदैनथें,” उनले भनिन्, “ममी र दिदीले पनि ‘बाबाको सपना पूरा गरेर जाउ’ भन्दै थप हौसला र हिम्मत दिनुभयो। उहाँहरूकै साथले म फेरि उभिन सकेँ।”

सुटिङका दिनहरू सम्झँदै उनले रातभर नसुती, बिहान ४ बजे प्रोडक्सनको फोन आउँदा झस्किने गरेको बताइन्। तर क्यामेरामा आफ्नो थकान वा कमजोर भाव नदेखियोस् भन्ने दृढताले नै उनलाई भित्रैबाट बलियो बनायो।

टिमको साथ र ‘जलाकी’ प्रति उच्च उत्साह

पहिलो फिल्ममै निर्देशक अशोक थापा मगर र छायाँकार शैलेन्द्र डी. कार्कीबाट पाएको अभिभावकीय स्नेह र सहयोगले आफूलाई डेब्यु कलाकारजस्तो महसुस नै नभएको उनको भनाइ छ। निर्देशक मगरले आफ्नै छोरीजस्तो गरेर गाइड गरेको बताउँदै उनले यसको सम्पूर्ण श्रेय निर्देशकलाई नै दिएकी छन्।

यसअघि धेरै प्रोजेक्ट गुमाए पनि ‘जलाकी’ जस्तो ड्रिम प्रोजेक्टमा काम गर्न पाउँदा र यसको कथावस्तु आफ्नो व्यक्तिगत जीवनसँग मिल्दोजुल्दो भएकोले उनी अत्यन्तै सन्तुष्ट छिन्। यो फिल्मले ‘वान साइडेड लभर’ (एकोहोरो प्रेमी) हरूको भावनासँग राम्रोसँग जोड्न सक्ने उनको विश्वास छ।

प्रदर्शन मिति र स्टार कास्ट

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुनेछ।

फिल्ममा साहारासँगै सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन लगायतका कलाकारहरूको अभिनय रहेको छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारहरूमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरको पनि प्रस्तति रहनेछ।

ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकीको निर्माण रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले खिचेका हुन् भने गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर