काठमाडौं । सरकारले दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी डा. मनोज केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अपराध अनुसन्धान विभागमा कार्यरत केसीलाई प्रहरी संगठनको नेतृत्व दिने निर्णय गरेको हो।
केसी र कार्की एउटै ब्याचीका प्रहरी अधिकृत हुन्। दुवै जना २८ चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। केसी २०६६ मा डीएसपी, २०७४ मा एसपी, २०७९ मा एसएसपी, २०८१ मा डीआईजी र २०८२ मा एआईजीमा बढुवा भएका थिए।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणको अनुसन्धानमा नेतृत्व गरेपछि केसी चर्चामा आएका थिए। उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान कार्यालय, विशेष ब्युरो, प्रहरी एकेडेमी तथा विभिन्न जिल्लामा रहेर काम गरिसकेका छन्। फेक रेस्क्यु ठगी, स्मार्ट टेलिकम ठगी, क्रिप्टोकरेन्सी अपराध र सरकारी जग्गा हिनामिनालगायतका घटनाको अनुसन्धानमा पनि उनले नेतृत्व गरेका छन्।
केसीले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्। उनी नेपाल प्रहरीमा स्टाफ कलेजका संस्थापक निर्देशकसमेत हुन्।
संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत कोसोभो र हाइटीमा काम गरेको अनुभव भएका केसी फ्रान्सेली र स्पेनी भाषामा समेत दख्खल राख्छन्। उनले संगठित अपराध र द्वन्द्व रूपान्तरणसम्बन्धी दुई पुस्तकसमेत लेखेका छन्।
केसीको नियुक्तिसँगै प्रहरी संगठनको नेतृत्वमा नयाँ परिवर्तन आएको छ।




























