काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।
‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले केही गर्नुपर्यो भन्ने पार्टीबाट निर्देशन आएको थियो,’ मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले भने, ‘त्यसैले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो । तर प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने पनि संवेदनशील जिम्मेवारी हो ।’
उनले आईजीपी कार्कीमाथि कारबाही नगरिएको पटक–पटक दोहोर्याए । ‘उहाँलाई कारबाही गरिएको होइन, उहाँको जिम्मेवारी फेरबदल भएको हो । उहाँलाई सुरक्षा सल्लाहकार पदमा प्रधानमन्त्री कार्यालयमा ल्याइएको हो । कारबाही भएकै छैन । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने हो,’ मन्त्री पोखरेलले भने ।




























