गीत हटाउने विषयमा दुर्गेश थापाको स्पष्टीकरण : ‘पैसाका लागि मात्रै भएको भए कहिल्यै हटाउने थिइँन’
काठमाडौं : गायक तथा मोडल दुर्गेश थापाले हालै सार्वजनिक गरेको नयाँ तीज गीत ‘बिचबिचमा २’ को पत्रकार सम्मेलनमा उनको योभन्दा बढी फिल्म ‘मास्टर्नी’ को प्रवर्धन गीत युट्युबबाट हटाइएको विषयले बढी चर्चा पायो। गीत सार्वजनिक कार्यक्रममा पत्रकारहरूले उनलाई उक्त प्रवर्धन गीत किन निर्माण गरिएको र पछि किन हटाउनुप¥यो भन्नेबारे लगातार प्रश्न गरेका थिए।
पत्रकारहरूको प्रश्नमा प्रतिप्रश्न गर्दै दुर्गेशले भने, “गीत विवादित भयो भनेर आजसम्म कसैले गीत प्राइभेट गरेको देख्नुभएको छ?”
स्वेच्छाले गीत प्राइभेट गरेको दाबी
उनले आफूले कुनै पनि अदालत, प्रशासन वा सरकारी निकायको निर्देशनमा नभई दर्शक तथा स्रोताको भावनालाई सम्मान गर्दै स्वेच्छाले गीत प्राइभेट गरेको दाबी गरे।
उनले स्पष्ट पार्दै भने, “मलाई कसैले पत्र काटेर गीत हटाउन भनेको होइन। दर्शकको अनुरोधलाई सम्मान गर्दै मैले आफैं प्राइभेट गरेको हुँ। यदि पैसाकै लागि मात्र गीत बनाएको भए म यो कहिल्यै हटाउने थिइँन।”
आलोचना गर्नेहरूले गीतलाई गहिराइमा पुगेर नसुनेको उनको गुनासो थियो। गीतका शब्द र त्यसको प्रस्तुतिलाई लिएर आफूबाट केही कमजोरी भएको स्वीकार गर्दै उनले सोही कमीकमजोरीलाई सच्याउने उद्देश्यले नै गीत युट्युबबाट हटाएको बताए। “हरेक गीत सुन्दा र त्यसबारे गाउँदा राम्रोसँग सुनेको भए फरक बुझाइ हुन्थ्यो होला नि,” पत्रकारहरूप्रति प्रश्न गर्दै उनले भने।
परम्परागतभन्दा भिन्न ‘बिचबिचमा २’
पत्रकार सम्मेलनमा आफ्नो नयाँ तीज गीत ‘बिचबिचमा २’ बारे कुरा गर्दै उनले यो गीत परम्परागत शैलीको तीज गीतभन्दा पूर्ण रूपमा नाच्न मिल्ने आधुनिक शैलीमा तयार पारिएको बताए। दर्शकलाई तीजको गरिमासँगै छमछमी नचाउन सकियोस् भन्ने उद्देश्यले यो गीत बजारमा ल्याएको उनको भनाइ छ।।






























