काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय पत्रकारहरू असुरक्षित भइरहेको भन्दै सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न उठाएका छन्।
सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रतिपक्षी दलको कार्यालयमा प्रश्न गर्न पुगेका पत्रकारहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गरेको बताए। पत्रकारहरूले आफ्नो असहमति र विमति खुलेर राख्नुपर्ने उनको भनाइ थियो।
‘प्रतिपक्षीकै कार्यालयमा गएर नै सही, बुम अगाडि तेस्र्याउँदै गर्दा पत्रकार साथीहरूको हातमा कहीँ न कहीँ कालोपट्टी होला भन्ने मलाई अनुमान लागेको थियो,’ उनले भने।
पत्रकारहरूले प्रतिपक्षी दलको कार्यालयदेखि सिंहदरबार र बालुवाटारसम्म पुगेर प्रधानमन्त्रीकै अगाडि पनि आफ्ना असहमति र असन्तुष्टि व्यक्त गर्न सक्नुपर्ने शर्माले बताए।
‘मैले तपाईंहरू कसैको हातमा कालोपट्टी देखिनँ। त्यसैले तपाईंहरूलाई सोध्न चाहन्छु, सबैभन्दा पहिले– तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?’ उनले पत्रकारहरूलाई प्रश्न गरे।




























