सगरमाथा आरोही तेन्जिङ नोर्गेको कथामा बनेको फिल्म ‘तेन्जिङ’ जुरिच फिल्म फेस्टिभलको उद्घाटनमा प्रदर्शन हुने
काठमाडौं — सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक कथामा आधारित फिल्म ‘तेन्जिङ’ प्रतिष्ठित २२औं जुरिच फिल्म फेस्टिभलको उद्घाटन फिल्मका रूपमा प्रदर्शन हुने भएको छ।
जेनिफर पिडमको निर्देशनमा तयार भएको यस फिल्ममा नेपालका विभिन्न रमणीय र आकर्षक स्थानहरूमा छायांकन गरिएको छ। हलिउडका चर्चित कलाकारहरू टम हिडलस्टन, विलेम डाफो र गेन्डेन फुन्त्सोकको प्रमुख अभिनय रहेको यो फिल्म आगामी सेप्टेम्बर २४ मा भव्य रूपमा प्रदर्शन गरिने मनोरञ्जन क्षेत्रको अन्तर्राष्ट्रिय पत्रिका ‘भेराइटी’ले जनाएको छ।
एप्पल ओरिजिनल फिल्म्सको निर्माण रहेको यस फिल्मको युरोपेली प्रिमियरमा मुख्य कलाकारहरू हिडलस्टन, डाफो र निर्देशक पिडम स्वयम् जुरिचको ‘ग्रिन कार्पेट’मा उपस्थित हुनेछन्।
‘ड्रिम बिग’ नारासँग मेल खाँदैछ फिल्म
जुरिच फिल्म फेस्टिभलका प्रमुख कार्यकारी अधिकृत क्रिश्चियन युन्गेनले यस वर्षको फेस्टिभलको नारा ‘ड्रिम बिग’ (ठूलो सपना देख्नुहोस्) रहेको उल्लेख गर्दै ‘तेन्जिङ’ त्यसका लागि अत्यन्त सान्दर्भिक उद्घाटन फिल्म भएको बताएका छन्।
“यस वर्षको हाम्रो नारा ‘ड्रिम बिग’ हो। हाम्रो रोमाञ्चक उद्घाटन फिल्म ‘तेन्जिङ’ यससँग पूर्ण रूपमा मेल खान्छ, किनभने ठूलो सपना राख्दा मानिस कसरी आफ्नै क्षमता र सीमाभन्दा माथि उठ्न सक्छ भन्ने कथा यसले देखाउँछ,” युन्गेनले भने।
ऐतिहासिक सत्यकथामा आधारित
यो फिल्म वास्तविक घटनामा आधारित छ। यसले विश्वका सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गर्ने नायक तेन्जिङ नोर्गेको जीवन र संघर्षको कथा पस्किन्छ। सन् १९५३ मा तेन्जिङ नोर्गेले न्युजिल्यान्डका प्रख्यात पर्वतारोही सर एडमन्ड हिलारीसँग मिलेर सगरमाथाको सफल आरोहण गरी इतिहास रचेका थिए। फिल्ममा तेन्जिङ नोर्गेको भूमिका गेन्डेन फुन्त्सोकले निभाएका छन्।
आगामी २२औं जुरिच फिल्म फेस्टिभल सेप्टेम्बर २४ देखि अक्टोबर ४ सम्म आयोजना हुँदैछ।
काठमाडौंमा विशेष च्यारिटी स्क्रिनिङ हुने
यसैबीच, हालै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ काठमाडौंस्थित बेलायती दूतावासले फिल्म ‘तेन्जिङ’को विशेष प्रदर्शन (च्यारिटी शो) काठमाडौंमा आयोजना गर्ने भएको छ।
बेलायती दूतावासका अनुसार यस विशेष प्रदर्शनबाट संकलन हुने सम्पूर्ण रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिनेछ। नेपालमा छायांकन भएको र नेपाली पर्वतारोहणको गौरव गाथा बोकेको यस फिल्मको विशेष प्रदर्शनीले बाढीपीडितका लागि राहत जुटाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।































