चितवनको धारापानीमा बस, माइक्रो र ट्रक ठोक्किए, १० जना घाइते

भरतपुर – चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा बस, माइक्रोबस र ट्रक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

प्रहरीचौकी कुरिनटारका अनुसार मंगलबार बिहान करिब ९:२० बजे काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको बसले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा बस र माइक्रोबसमा सवार यात्रु घाइते भएका हुन्। घाइतेमध्ये पाँच जनाको विवरण खुलेको छ। उनीहरूको कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा बाराको निजगढ निवासी ४२ वर्षीय कुमार जोशी, पूर्वी नवलपुरको कावासोती नगरपालिका–३ निवासी ३८ वर्षीय खेमबहादुर गुरुङ र ४२ वर्षीय मुराबहादुर कुमाल रहेका छन्। जोशीको टाउकोमा तथा गुरुङ र कुमालको दायाँ खुट्टामा चोट लागेको छ।

त्यस्तै, झापाको दमक नगरपालिका–३ निवासी ४८ वर्षीया कल्पना पोखरेल र बिर्तामोड नगरपालिका–५ निवासी २२ वर्षीय रोमन भट्टराई पनि घाइते भएका छन्। पोखरेलको शरीरमा बाहिरी चोट नदेखिएको र भट्टराईको दायाँ आँखामाथि चोट लागेको जनाइएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको छ।

अन्य घाइतेहरूको नामावली आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई कुरिनटारस्थित सशस्त्र प्रहरी बलको पृथ्वी हाईवे ट्रमा सेन्टर र इच्छाकामना गाउँपालिका अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाका कारण पृथ्वी राजमार्गको उक्त खण्डमा एकतर्फी यातायात अवरुद्ध भएको छ। सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।