काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध ८ रनको रोमाञ्चक जित हासिल गरेको छ।
सहज जिततर्फ उन्मुख विराटनगरविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै चितवनले पहिलो जित निकाल्यो। विराटनगरले १७ रन जोड्दा आफ्ना पछिल्लो ५ विकेट गुमाउन पुगेपछि सहज रुपमा जित निकाल्ने खेलमा हार भोग्न बाध्य भयो।
दिनको पहिलो खेलमा चितवनले टस हारेर पहिले ब्याटिङ गर्दै विराटनगरसमक्ष १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा विराटनगर १९.३ ओभरमा १ सय ४९ रनमा समेटियो।
विराटनगरका लागि वेस्टइन्डिजका स्टार ब्याटर आन्द्रे रसेलले १७ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३३ रनको विष्फोटक इनिङ्स खेल्दै टिमलाई बलियो जितको आधार बनाएका थिए। तर, पछिल्लो क्रम क्रिजमा टिक्न असफल भयो। उनीबाहेक इमरान शेखले ३९ रन बनाउँदा लोकेश बमले २६ तथा बसिर अहमदले १३ रन बनाए।
चितवनका लागि कमल ऐरीले महत्वपूर्ण ४ विकेट लिँदा रिजन ढकालले २ तथा टोम टेलर, रञ्जित कुमार, डन मौसली तथा मौसम ढकालले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५७ रन बनायो। चितवनका लागि डेविड मलानले ५० बलमा ५ चौका र छक्काको सहयोगमा ७० रनको इनिङ्स खेले। त्यस्तै, रवि बोपराले ३२ रन बनाउँदा डन मौउसलीले २९ रनको नटआउट इनिङ्स खेले। देव खनाल १२ रन बनाएर आउट भएका थिए।
विराटनगरका लागि एन्जेलो म्याथ्युज, आन्द्रे रसेल तथा चरिथ अशलंकाले समान १-१ विकेट लिएका थिए।






























