चालकले सडकमै छाडे २० लाखको स्कार्पियो, भन्सारमा बुझाइयो

विराटनगर। विराटनगरमा भारतीय नम्बर प्लेटको करिब २० लाख रुपैयाँ मूल्य पर्ने स्कार्पियो गाडी चालकले छाडेर फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

विराटनगर महानगरपालिका–४ नहरचोकस्थित सडक किनारमा सोमबार उक्त गाडी फेला परेको हो। दक्षिणबाट उत्तरतर्फ आइरहेको गाडीलाई प्रहरीले रोक्न खोजेपछि चालक गाडी छाडेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक डम्बर गिरीको कमान्डमा खटिएको टोलीले गाडी नियन्त्रणमा लिएको हो।

सेतो रङको महिन्द्रा स्कार्पियोमा भारतीय नम्बर प्लेट बीआर ११ पीए ४२५४ रहेको प्रहरीले जनाएको छ। गाडीको आवश्यक कागजात फेला नपरेपछि भन्सार छली गरी नेपाल भित्राइएको हुन सक्ने आशंका गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। उनका अनुसार गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा पठाइएको छ।

गाडीको इन्जिन नम्बर एसजेजी ४ सी १२२३४ र चेसिस नम्बर  एमए१टीए२एसजेएक्सजी २ सी २७९०१ रहेको छ। प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।