मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं।नेपाल प्रिमियर लिगमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो।

चितवन राइनोजका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५० बलमा समान ५ चौका र ५ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि देव खनालसँग ५८ रनको साझेदारी बनाएका थिए। देव खनालले १२ रन बनाउँदै स्टम्पिङ आउट भए। वान डाउनमा आएका अर्जुन साउद ३ रनमा क्याच भए।कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहे। यी दुईले चौथो विकेटको लागि ६७ रनको अविजित साझेदारी बनाए। विराटनगरका लागि बलिङ तर्फ एन्जेलो म्याथ्यूस, आन्द्रे रसेल र चारिथ आसालंकाले १-१ विकेट लिए।