हुम्ला – नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँ जोड्ने स्थानीय सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाउने कार्य सुरु भएको छ। सडक अवरुद्ध हुँदा यातायातका साधन मात्र नभएर पशुवस्तु र मानिससमेत सो सडकमा हिँड्न कठिन भएपछि गाउँपालिकाको सहयोगमा पहिरो र ढुंगा पन्छाउने कार्य सुरु भएको हो।
लिमी तुम्लिङदेखि जाङ गाउँ, जाङबाट हल्जी र हल्जीबाट तील गाउँसम्मको सडकमा खसेको पहिरोका साथै ठूला ढुंगा पन्छाउने कार्य स्थानीय स्तरमा सुरु गरिएको वडाध्यक्ष पाल्जोर तामाङले बताए।
उक्त ग्रामीण सडकमा कम्तीमा एक दर्जनभन्दा बढी स्थानमा पहिरोले अवरुद्ध गरेको थियो। गत असोज ९ देखि ११ गतेसम्म परेको वर्षासँगैको भारी हिमपातले सडकलाई क्षति पुर्याउनुका साथै अवरुद्धसमेत गरेको थियो।
सडकको अवस्था निकै दयनीय अवस्थामा पुगेपछि गाउँपालिकाको समन्वयमा मेसिन सञ्चालन गरेर सडक सुचारु गर्ने कार्य सुरु भएको उनले बताए। उक्त सडकको मर्मत कार्य भएपछि लिमीका तीन गाउँको आन्तरिक सडक सुचारु हुने छ। यद्यपि, लिमी बाहिरी क्षेत्रसँग भने जोडिने अवस्था रहेको छैन। लिमीलाई सडक सञ्जालमा जोड्नका लागि न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउनुपर्नेछ।






























