यसपालीको ‘पलेँटी’ मा गुञ्जँदै छन् नीर शाहका गीत

राष्ट्रिय विपद्का कारण स्थगित भएको अगस्ट महिनाको ‘पलेँटी’ यही सेप्टेम्बर महिनाको सप्ताहन्तमा हुने भएको छ । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको श्रृंखलामा गत महिना नै गीतकार तथा अभिनेता नीर शाहलाई प्रस्तुत गरिने जनाइएको थियो ।

भोटेकोशी बाढीबाट उत्पन्न शोकका कारण स्थगित सोही कार्यक्रम आउँदो हप्ता हुने भएको हो । कार्यक्रममा नीर शाहद्वारा रचित झण्डै डेढ दर्जन गीत समावेश गरिएका छन् जसलाई ‘पलेँटी’का कण्ठ–शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले गाउने छन् ।

पलेँटी कार्यक्रम आजभन्दा झण्डै २२ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।

नीर शाह लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका परिचित अभिनेता तथा निर्देशक हुन् । उनको कलाकारितामा गीति सृजनाको पनि महत्वपूर्ण भूमिका छ । शाहले रचना गरेका गीतहरूले लामो समयदेखि नेपाली संगीत संसारलाई तरङ्गित बनाउँदै आएका छन् ।

उनले रचेका गीतमा ‘पर्खी बसेँ आउला भनी’, ’कहिले काहीँ म हाँस्छु’ ’गहिराईमा डुब्दै नडुब’, अधरको मुस्कान त केही होइन’, ’बादल बनाई देऊ’, ’हिउँभन्दा चिसो’ लगायतका अनेक गीत छन् ।

शाहले गैर फिल्मी गीतमा जसरी कलम चलाएका छन् त्यत्तिकै सशक्त ढंगले फिल्मी गीतमा पनि कलम चलाएका छन् । शाहले रचना गरेका फिल्मी गीतमा ’आँखैमा कसैको तस्वीर बसेछ’, ’जति निर्मल’, ’छोरी मलाई भागी भागी’, ’यो साँझ यो सुवास’ लगायतका गीत लोकप्रिय छन् ।

यसपाली पलेँटीमा प्रस्तुत हुने नीर शाहका रचनामा सङ्गीतकार नातिकाजी, शम्भुजित बास्कोटा, सिके रसाइली र दीप श्रेष्ठले धुन भरेका गीत समेटिएका छन् ।

श्रृंखलाको लागि तयारी गरिरहेको साङ्गीतिक टिम माझ भेटिएका गीतकार शाह आगामी कार्यक्रम बारे टिप्पणी गर्दै भन्छन्, ‘संगीत नाट्य विधासँग म यसरी नजिक छु कि सङ्गीतको सानो ध्यान वा ठूलो कन्सर्ट भइरहेको ठाउँ उत्तिकै प्रिय लाग्छ । पलेँटीको पूर्वाभ्यासमा सहभागी हुन आइपुगेँ; गायक वाद्यवादक सबै प्रतिभा सम्पन्न हुनुहुँदो रहेछ । गौरवशाली इतिहास हो यो । उहाँहरूको प्रतिभासँग प्रत्यक्ष साक्षी हुने मौका पाउँदा उत्साहित बनेको छु ।’

आफ्नो अनुभवको सम्झना गर्दै शाह अगाडि भन्छन्, ‘नारायण गोपाल दाइको लाइभ कन्सर्ट गरेको सम्झना छ । त्यो मेरो दायित्व थियो । त्यस्तै प्रकृतिको पलेँटीलाई जीवनका महत्वपूर्ण शृंखलामध्ये एक हो भन्ने ठानेको छु ।’

कार्यक्रमबारे पलेँटीका संयोजक आभासको भनाइ छ, ‘साङ्गीतिक रचनाका तीनवटै विधालाई समेट्ने क्रममा यसपाली गीतकार नीर शाहलाई निम्त्याएका छौँ । संचार र चलचित्र क्षेत्रका साथै गीति साहित्यमा उहाँको उल्लेख्य योगदान छ । सृजनात्मक अनुभवसहितको यसपालीको पलेँटी रोमान्चक रहनेमा विश्वस्त छु ।’

‘पलेँटी’ कार्यक्रम यही सेप्टेम्बर महिनाको अन्तिम शुक्रबार र शनिबार (२५ र २६ तारिख) का दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने यस कार्यक्रमको टिकट अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।