काठमाडौँ । स्पेनका लागि प्रस्तावित नेपाली राजदुत प्राप्ति शेरचनले म्याड्रिडस्थित नेपाली राजदूतावासलाई थप सक्रिय, सर्वसुलभ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
मंगलवार संघीय संसदको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्य योजना र अवधारणा प्रस्तुत गर्दै उनले दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक कूटनीति र श्रमिक हितलाई केन्द्रमा राखेर काम गर्ने स्पष्ट पारेकी हुन् । प्रस्तावित राजदुत शेरचनले स्पेन पुगेर स्थलगत वस्तुस्थितिको गहिरो अध्ययन गरी परराष्ट्र मन्त्रालयको मार्गदर्शनमा बलियो रणनीतिक योजना निर्माण गर्ने बताइन् । परम्परागत कूटनीतिक औपचारिकतामा मात्र सीमित नभई नेपालको आर्थिक विकास र सम्भावनाको खोजीमा दूतावासलाई जोड्ने उनको योजना छ । शेरचनले आफ्नो भावी कार्य योजनालाई चार मुख्य स्तम्भमा वर्गीकरण गरेकी छिन् ।
जसमा आर्थिक, व्यापार तथा जलवायु कूटनीति पहिलो, कन्सुलर सेवा तथा श्रम कल्याण दोस्रो, पर्यटन र सांस्कृतिक कूटनीति तेस्रो तथा द्विपक्षीय एवं संस्थागत सम्बन्ध सुदृढीकरण चौथो स्तम्भ रहेका छन् । यसका अतिरिक्त स्पेनको नीतिगत विशेषतालाई ध्यानमा राख्दै ‘फेमिनिस्ट डिप्लोमेसी’ (नारी समानतामुखी कूटनीति) लाई सबै क्षेत्रमा क्रस–कटिङ पिलरका रूपमा अगाडि बढाउने उनले बताइन् । स्पेन युरोपेली संघको चौथो ठूलो अर्थतन्त्र हुनुका साथै नवीकरणीय ऊर्जा, जल व्यवस्थापन, पूर्वाधार र दिगो पर्यटनमा अग्रणी रहेको चर्चा गर्दै शेरचनले नेपालले त्यहाँबाट प्रविधि र लगानी भित्र्याउन पहल गर्ने उल्लेख गरिन् ।
स्पेनमा ५० वटा विश्व सम्पदा सूचीकृत स्थल रहेको र त्यहाँ संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएन टुरिजम) को मुख्यालयसमेत रहेकाले नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्यको ठूलो सम्भावना रहेको उनको विश्लेषण छ । यसैगरी स्पेन दूतावासअन्तर्गत सह–प्रमाणीकरण हुने युरोपेली मुलुक माल्टामा कार्यरत नेपाली आप्रवासी श्रमिकहरूको सुरक्षा र कल्याणलाई उच्च प्राथमिकतामा राखिने उनले बताइन् ।
युरोपेली संघको व्यापार सुविधा ‘एभ्रिथिङ बट आम्र्स’ (ईबीए) बाट नेपाल जीएसपी प्लस फ्रेमवर्कमा स्तरोन्नति हुने प्रक्रियामा रहेकाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का मापदण्ड र अभिसन्धिहरूको पूर्ण परिपालना सुनिश्चित गर्दै शून्य भन्सार सुविधा जोगाउन कूटनीतिक सहजीकरण गर्ने उनले स्पष्ट पारिन् ।






























