खगेन्द्र सुनारले भने– ‘ममाथि निष्पक्ष छानबिन होस्, सघाउन तयार छु’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन्।

एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि सुनारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक अडियोमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै उक्त सामग्री बनावटी हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

रास्वपाले यसअघि सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाउँदै घटनाबारे छानबिन अघि बढाएको जनाएको थियो।

सुनारले आफूमाथि लागेका आरोप प्रमाणित भए कानुनबमोजिमका सबै परिणाम भोग्न तयार रहेको बताएका छन्। उनले पार्टी र सरकारलाई आफूलाई संरक्षण नगरी निष्पक्ष छानबिन गर्नसमेत आग्रह गरेका छन्।

बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूलाई निशाना बनाइएको आरोपसमेत लगाएका छन्। यद्यपि, सार्वजनिक अडियोको सत्यता र घटनाको वास्तविकता छानबिनबाट पुष्टि हुन बाँकी छ।