मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । यस वर्ष स्याउ उत्पादनमा उल्लेख्य वृद्धि भए पनि सडक अवरुद्ध हुँदा मुस्ताङका किसानले समयमै आफ्नो उत्पादन बजार पुर्‍याउन सकेका छैनन्। हालसम्म जिल्लामा उत्पादित स्याउको ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ। बिक्रीको मुख्य याम घर्किन लाग्दा किसान र व्यापारी चिन्तित बनेका छन्।

गत असोज ११ गतेको भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि स्याउ निकासी प्रभावित भएको हो। करिब दुई सातासम्म सडक अवरुद्ध हुँदा बगैँचामा तयार भएको स्याउ बजारसम्म पुर्‍याउन नसकिएको हो। सडक सञ्चालनमा आएपछि भने किसान तथा व्यापारीले स्याउ टिपेर बजार पठाउन थालेका छन्।

कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरोधका कारण बिक्री तथा व्यवस्थापनमा समस्या देखिएको छ। सामान्य अवस्थामा यतिबेलासम्म करिब ७० प्रतिशत स्याउ बजार पठाइसक्नुपर्ने भए पनि हालसम्म ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको उनले बताए। जिल्लामा उत्पादित स्याउमध्ये करिब १० प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष जिल्लामा करिब १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ। गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो। उत्पादन बढेकाले यस वर्ष स्याउ बिक्रीबाट झन्डै दुई अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

तर, उत्पादन बढे पनि बजारसम्म पुर्‍याउने सडक सहज नहुँदा किसानले अपेक्षित लाभ लिन सक्ने अवस्था कमजोर बनेको छ। वर्षाले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मतपछि सञ्चालनमा आए पनि यातायात पूर्ण रूपमा सहज भइसकेको छैन। यही कारण स्याउ ढुवानीमा अझै चुनौती कायम छ।

मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बढी खपत हुने गर्छ। यही समयमा सडक अवरुद्ध हुँदा किसानले बिक्रीका लागि उपयुक्त अवसर गुमाउने जोखिम बढेको छ। अहिले भने बिक्रीको याम सकिन लागेकाले किसानले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन्।

मुस्ताङको घरपझोङ गाउँपालिका–५, ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार सडक सञ्चालनमा आएको दुई दिनमै छ ट्रक स्याउ काठमाडौं पठाइएको छ। यद्यपि, हालसम्म फार्मको उत्पादनमध्ये करिब ३० प्रतिशत मात्रै बजार पठाउन सकिएको उनले बताए।

जिल्लाका पाँचै स्थानीय तहमा उत्पादित स्याउ अहिले बजार पठाउने क्रम तीव्र पारिएको छ। जिल्लास्तरीय बोर्डको निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि बगैँचाबाट टिप्न सकिने व्यवस्था गरिएको थियो।

उत्पादन बढेर आम्दानीको सम्भावना बलियो बनेको यस वर्ष सडक अवरोधले मुस्ताङका किसानको अपेक्षामा असर पुर्‍याएको छ। अब समयमै स्याउ बजार पुर्‍याउन र किसानको उत्पादन खेर जान नदिन सडक यातायातलाई सहज बनाउनु आवश्यक देखिएको छ।