तमोर नदी किनारमा फसेका अर्जुनको मध्यरातमा सकुशल उद्धार

धनकुटा । दशैँको बिदामा घर जाने क्रममा तमोर नदी किनारमा अलपत्र परेका मोरङका २९ वर्षीय अर्जुन सरदारको सकुशल उद्धार गरिएको छ।

धनकुटा नगरपालिका–८ स्थित तमोर नदी किनारमा ढुंगामाथि फसेका सरदारलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाहरूको सहयोगमा सोमबार मध्यराति उद्धार गरिएको हो।

प्रहरीका अनुसार सरदार नदी पौडी खेलेर पार गरेपछि बाटो नभेट्दा अलपत्र परेका थिए। सूचना पाएलगत्तै परिचालित सुरक्षाकर्मी र स्थानीय युवाहरूले वैकल्पिक बाटोबाट पुगेर उनको उद्धार गरेका हुन्।

मोरङको ग्रामथान गाउँपालिका–१ निवासी सरदार रगुवा खोला क्षेत्रमा पुल निर्माण गर्दै आएको समिनारायण कन्स्ट्रक्सन प्रालिमा कार्यरत कामदार हुन्। उद्धारपछि उनलाई कम्पनीका प्रतिनिधि शिवनारायण यादवको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

उद्धारमा सहयोग गर्ने स्थानीय युवाहरूलाई प्रहरीले धन्यवाद दिएको छ।