काठमाडौं । नेपाली उद्योगको गुणस्तर तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यसहित सरकारले नेपाल प्रत्यायन केन्द्र सञ्चालनमा ल्याएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले यसलाई नेपालको औद्योगिक विकास, गुणस्तर सुधार तथा व्यापार सहजीकरणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले नेपाली उद्योगलाई गुणस्तरीय, प्रतिस्पर्धी र विश्व बजारमा स्थापित गर्न सरकारले परिणाममुखी सुधारका कार्यक्रम अघि बढाइरहेको उल्लेख गरे।
केन्द्र सञ्चालनमा आएसँगै प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ। यसबाट उद्योगी तथा व्यवसायीले परीक्षण र प्रमाणीकरणका लागि विदेशका निकायमा निर्भर हुनुपर्ने अवस्था क्रमशः अन्त्य हुने, समय तथा लागत घट्ने र उत्पादनको गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ।




























