पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, तराईका भू-भाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।