चुनावी हारको कारण इरान युद्ध र महँगो पेट्रोल : ट्रम्प

वासिङ्टन डीसी।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी नतिजालाई स्वीकार गरेका छन्। चुनावअघि धाँधलीको आशङ्का व्यक्त गरे तापनि डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन (सेनेट र हाउस अफ रिप्रिजन्टेटिभ्स) मा बहुमत हासिल गरेपछि ट्रम्पले नतिजालाई स्वीकार गरेका हुन्।

उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्वलाई हामी हार्नुको कारण भनी प्रत्यक्ष आलोचना गरेपछि, डोनाल्ड ट्रम्पले आफ्नो रिपब्लिकन पार्टीको मध्यावधि चुनावको हार पछाडि इरानसँगको युद्ध रहेको कुरा धेरै हदसम्म सत्य भएको बताएका छन्।

उनले इरानसँगको तनाव र त्यसका कारण बढेको महँगी तथा इन्धनको मूल्यले मध्यावधि चुनावमा पार्टीलाई ठूलो असर पारेको ट्रम्पले स्वीकारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, इरानविरुद्ध गरिएको सैन्य कारबाहीको निर्णय सही रहेको र पछि हट्नुपर्ने कुनै कारण नरहेको उनको अडान छ।

इरानमाथि तत्काल थप सैन्य हमला गर्ने कुनै योजना नरहेको स्पष्ट पार्दै ट्रम्पले आणविक खतरा रोक्न आफ्नो कदम अनिवार्य रहेको बताए। राजनीतिक विश्लेषकहरूले यस नतिजालाई ट्रम्प प्रशासनका आगामी नीति तथा कार्यक्रमहरूमाथि ठूलो परीक्षणका रूपमा हेरेका छन्। उनले आफ्नै पार्टीका केही उम्मेदवारहरूको कमजोर रणनीतिकै कारण हार ब्यहोर्नु परेको संकेत गरे।

उनले आफ्नो नाम मतपत्रमा नभएकै कारण पर्याप्त रिपब्लिकन समर्थकहरू भोट हाल्न नआएको दाबी गरे। ‘म नै उम्मेदवार भए जसरी भोट दिनू’ भन्दै प्रचार गरेका ट्रम्पले नतिजा आएपछि भने हारको जिम्मेवारीबाट पन्छिँदै भनेका छन्,’म मतपत्रमा थिइनँ, र यदि म उम्मेदवार भएको भए हामी भारी मतले जित्ने थियौँ।’