काठमाडौं । पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
आइतबार खरेलविरुद्ध युवराज सफलले उजुरी दर्ता गरेका हुन् । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलको दाबी छ ।
कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरेपनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् । पूर्वडीआइजी खरेलले सुराकी बापत कमिसन खाएँ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसको छानबिनको लागि निवेदन दिएका हुन् ।
सही सुराकीलाई नदिइकन नक्कली सुराकी खडा गरी सुराकी रकम लिनदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न समेत सफलले माग गरेका छन् ।