‘खुट्टा काट्नुपर्ने हुन सक्छ’ भन्दै डाक्टरले दिए चेतावनी, चेन स्मोकर अनिल सिंहको पीडादायी खुलासा

काठमाडौं । कुनै समय नेपाली युवापुस्ताको मन जितेका गायक अनिल सिंह पछिल्लो समय आफ्नो स्वास्थ्य समस्याका कारण चर्चामा आएका छन्। अत्यधिक धूम्रपानका कारण खुट्टामा गम्भीर समस्या देखिएको र चिकित्सकले खुट्टा काट्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको उनले खुलासा गरेका छन्।

हाल अस्ट्रेलिया सांगीतिक टुरमा रहेका सिंहले फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै आफ्नो स्वास्थ्य अवस्था र व्यक्तिगत संघर्षबारे बताएका हुन्।

उनका अनुसार उनी लामो समयदेखि अत्यधिक धूम्रपान गर्ने गर्थे। दिनमा चारदेखि पाँच बट्टासम्म चुरोट सेवन गर्ने गरेका उनलाई खुट्टामा समस्या देखिएपछि अस्पताल भर्ना हुनुपरेको थियो। स्वास्थ्य परीक्षणपछि चिकित्सकले धूम्रपानकै कारण समस्या उत्पन्न भएको भन्दै तत्काल चुरोट छाड्न सुझाव दिएका थिए।

चिकित्सकको चेतावनीपछि आफू नेपालबाट अस्ट्रेलिया आएको उनले बताए। अहिले औषधि सेवन गरिरहेका सिंहले चुरोटको मात्रा घटाएर दैनिक दुई खिल्लीमा झारेको र पूर्ण रूपमा धूम्रपान छाड्ने प्रयास गरिरहेको बताएका छन्।

‘मैले आफ्नै स्वास्थ्यसँग खेलबाड गरेँ। भोलि मलाई केही भयो भने त्यसको जिम्मेवार अरू कोही हुँदैन,’ उनले भावुक हुँदै भनेका छन्।

उनले आफ्नो उपचारमा सहयोग गर्ने चिकित्सक डा. दीपेश शाक्य तथा अस्ट्रेलिया टुरमा साथ दिएका गायक प्रकाश सपूत र गायिका रचना रिमालप्रति आभार व्यक्त गरेका छन्।

कुनै समय ‘डुब्न देऊ मलाई’, ‘तिम्रो त्यो नयनमा’, ‘प्रेमपत्र’, ‘आई लभ यू’, ‘इन्जिन गाडीमा’ र ‘सक्छौ भने विष देऊ’ जस्ता गीतमार्फत नेपाली संगीतमा लोकप्रिय बनेका अनिल सिंहको आवाजले २०५० को दशकमा युवापुस्तामाझ विशेष स्थान बनाएको थियो।

रोमान्टिक पप संगीतमा छुट्टै पहिचान बनाएका उनी गायनसँगै गीत लेखन र संगीत सिर्जनामा पनि सक्रिय थिए। पछिल्लो समय सांगीतिक गतिविधिबाट केही टाढिएका सिंह आफ्ना २२ वटा गीतको डिजिटल अधिकार फिर्ता लिने संघर्षका कारण पनि चर्चामा आएका थिए।

स्वास्थ्य संघर्षबीच पनि संगीतलाई निरन्तरता दिने बताएका सिंहले आगामी दिनमा गीत गाइरहने र दर्शकसँग जोडिइरहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबैलाई धूम्रपान त्याग्न र आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रहसमेत गरेका छन्।