नेपालको क्रेडिट रेटिङमा सुधार, अंक ३.६६ पुग्यो

काठमाडौँ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) अंकमा सुधार भएको छ। अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको मूल्यांकनअनुसार नेपालको अंक गत वर्षको ३.४७ बाट बढेर यस वर्ष ३.६६ पुगेको हो।

अर्थ मन्त्रालयका अनुसार फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा ‘बीबी–’ रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अंक आवश्यक पर्छ। गत वर्ष नेपालको अंक उक्त सीमाभन्दा कम भए पनि गुणात्मक मूल्यांकनका आधारमा एक तह थप गरी ‘बीबी–’ रेटिङ दिइएको थियो। तर, यस वर्ष नेपालले कुनै अतिरिक्त सहुलियतबिना आफ्नै मूल्यांकन अंकका आधारमा उक्त रेटिङ प्राप्त गरेको मन्त्रालयले जनाएको छ।

फिचले लगातार तेस्रो वर्ष नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी–’ मा कायम राखेको छ। रसुवा, बूढीगण्डकीलगायत क्षेत्रमा गएको विनाशकारी बाढीबाट उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुद रेटिङ अंक बढ्नु सकारात्मक उपलब्धि भएको अर्थ मन्त्रालयको भनाइ छ।

सरकारले अघि बढाएका सुशासनका कदम र आर्थिक सुधारका कार्यक्रमले नेपालको रेटिङमा सकारात्मक प्रभाव पारेको मन्त्रालयले जनाएको छ।

सार्वभौम क्रेडिट रेटिङले कुनै देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व र ऋण तिर्न सक्ने क्षमताको मूल्यांकन गर्छ। यसले अन्तर्राष्ट्रिय वित्तीय बजारमा देशको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण तथा बाह्य ऋण प्राप्त गर्ने क्षमताको आकलन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।