काठमाडौं। एक वर्षको अवधिमा रेमिट्यान्समार्फत १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाा मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६.५ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।
नेपाल राष्ट्र बैंकको यो आंकडा अनुसार यस आर्थिक वर्षमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । गत आवमा रेमिट्यान्स २३।२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४।५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो । यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या केही कम भएपनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको हो ।