सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ

सर्लाही । सामाजिक सञ्जालमार्फत भ्रामक तथा श्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४, गडहिया टोलका ३२ वर्षीय आलम बैठा छन् ।

प्रहरीका अनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे वास्तविकताभन्दा फरक तथा भ्रामक सूचना सम्प्रेषण गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै प्रहरीको कामकारबाहीप्रति अनावश्यक भ्रम र अन्योल फैलाउने कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि सूचना प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको सत्यतथ्य पुष्टि गर्न र भ्रामक सामग्री सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।