काठमाडौँ – राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले दुई हजार जनाका लागि निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको प्रतिष्ठानले आईएनजी ग्रुप र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा उक्त तालिम आयोजना गर्न लागेको हो।
युवाहरूलाई आर्टिफिसिय इन्टेलिजेन्स (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्नका लागि सञ्चालन हुने तालिममा २ हजार जनासम्म सहभागी हुन सक्नेछन्। तालिम आगामी कात्तिक १८ र १९ गते बिहान १० देखि १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ। चारवटा सत्रमा प्रतिसत्र ५०० जना सहभागी गराइने छ।
‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ शीर्षकमा सञ्चालन हुने यस तालिममा प्रविधिको व्यावहारिक प्रयोगमा जोड दिइनेछ। तालिम अवधिभर सहभागीहरूले च्याटजीपीटी, क्लाउड लगायतका प्रमुख एआई टुलहरूको प्रभावकारी प्रयोग गर्न सिक्नेछन्।
तालिममा सहभागी हुन इच्छुक युवाहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।






























