काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार राति सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल सुरु हुनुअघि मैदानमा जुन घटनाक्रम देखियो, त्यसले प्रतियोगिताको नियम कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ।
निरन्तर वर्षाका कारण पहिलो खेल रद्द भएको दिन दोस्रो खेल पनि हुने सम्भावना कमजोर थियो। तर, मैदान तयार पार्न ग्राउन्ड्सम्यानले निरन्तर कडा परिश्रम गरेपछि साँझ मौसम खुल्यो। मैदानको अवस्थाबारे पटकपटक निरीक्षण गरेपछि खेल अधिकारीहरूले पाँच ओभरको खेल गराउने निर्णय गरे।
त्यसका लागि साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु गर्ने समय तोकिएको थियो। दुवै टोलीका कप्तान पनि यसका लागि सहमत भएका थिए। तर, निर्धारित समयमा टस हुन सकेन। विराटनगरका कप्तान सन्दीप लामिछाने टसका लागि मैदानमा पुगे पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी आएनन्।
सुदूरपश्चिमका विदेशी खेलाडी खेल्न तयार नभएको विषय बाहिरिएपछि मैदानमा अन्योल सुरु भयो। सुदूरपश्चिमका व्यवस्थापक सुनिल थापा, प्रशिक्षक मिसबाह उल हक र कप्तान दीपेन्द्रले क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्का र म्याच रेफ्री वेन्डल लाब्रोएसँग लामो छलफल गरे। यसअघि पनि दीपेन्द्रले बाउन्ड्री लाइनमा पुगेर पारससँग कुरा गरेका थिए।
निर्धारित समयमा टस र खेल सुरु हुन नसकेपछि पनि छलफल जारी रह्यो। सुदूरपश्चिमका खेलाडी र प्रशिक्षक एकपटक मैदान छाडेर ड्रेसिङ रुम फर्किए। एक घण्टाभन्दा बढी समयको अन्योलपछि राति ८:५४ बजे सुदूरपश्चिमका खेलाडी खेल्न तयार भएको जानकारी आएको थियो। त्यसपछि राति ९ बजे टस र ९:१५ बजे खेल सुरु गर्ने तय भयो।
खेल सुरु हुन ढिलाइ हुनुको आधिकारिक कारण सुदूरपश्चिम र क्यान दुवैले विस्तृत रूपमा सार्वजनिक गरेका छैनन्। तर, मैदानको आउटफिल्ड केही गिलो भएको र विदेशी खेलाडीहरू खेल्न तयार नभएको विषय छलफलको मुख्य कारण बनेको मैदानमा देखिएको थियो।
कटअफ समयपछि खेल सुरु गर्ने निर्णय
यो घटनाको सबैभन्दा महत्वपूर्ण पक्ष खेल सुरु गर्ने समय हो। राति ७:४१ बजे पाँच ओभरको खेल सुरु गर्ने समय तोकिएको थियो। तर उक्त समयमा खेल सुरु हुन सकेन। त्यसपछि राति ९:१५ बजे खेल सुरु गर्ने निर्णय भयो। अर्थात्, खेल सुरु गराउने भनेर तय गरिएको समय सकिएको एक घण्टाभन्दा बढी समयपछि खेल सुरु भयो।
नियम अनुसार कटअफ टाइम सकिइसकेपछि खेल सञ्चालन गर्न मिल्दैन । तर यो विवादका बीच तोकिएको समयभन्दा झण्डै डेढ घण्टापछि टस भयो । विषम् परिस्थिति भएका कारण ढिला सुरु गर्नुपरेको बताइयो ।
क्यानका सचिव पारस खड्काले खेलपछि यस विषयमा बोल्दै म्याच रेफ्री र अम्पायरले मैदान खेल्न योग्य ठहर गरिसकेपछि खेल हुनुपर्ने बताएका छन्। उनका अनुसार विदेशी खेलाडीले खेल्न अस्वीकार गरेपछि सुदूरपश्चिमलाई सम्झाउन समय लागेको थियो।
‘म्याच रेफ्री र अम्पायरले कन्डिसन खेल्न योग्य छ भनेर निर्णय गरिसकेपछि खेल्नुपर्छ। प्राविधिक रूपमा खेल्नैपर्ने थियो,’ पारसले भने, ‘विदेशी खेलाडी खेल्न तयार नभएपछि हामीले उहाँहरूलाई खेल्न आग्रह गर्यौँ। त्यही कारण समय लागेको हो।’
पारसका अनुसार नियमअनुसार खेल्न अस्वीकार गरेको अवस्थामा टोलीले खेल गुमाउनुपर्ने अवस्था पनि आउन सक्थ्यो। तर विवाद सिर्जना नगरी खेल गराउने उद्देश्यले क्यानले सुदूरपश्चिमलाई सहभागी हुन मनाउने प्रयास गरेको थियो।‘डाइरेक्ट्ली फोरफिट पनि गराउन सकिन्थ्यो। तर हामीले सकेसम्म विवाद नगराई उहाँहरूलाई खेल्न आग्रह गर्यौँ,’ उनले भने।
उनले क्रिकेटका नियम कुनै एउटा टोली वा व्यक्तिका लागि नभई सबैका लागि समान रूपमा लागू हुने पनि बताएका छन्। म्याच रेफ्री र अम्पायरले मैदान खेल्न योग्य ठहर गरेपछि खेल हुनुपर्ने उनको भनाइ थियो।
खेल सुरु हुनुअघि फेरि अर्को विवाद
लामो अन्योलपछि खेल सुरु हुने निश्चित भए पनि विवाद त्यतिमै सकिएन। पहिलो बल हुनुअघि नै सुदूरपश्चिमको फिल्डिङलाई लिएर अम्पायरले हस्तक्षेप गर्नुपर्यो।
सुदूरपश्चिमले वेस्ट इन्डिजका शेरफेन रदरफोर्डलाई सुरुवातमा फिल्डिङमा उतारेको थिएन। उनको स्थानमा टेक रावतले फिल्डिङ गरिरहेका थिए। अम्पायरले रदरफोर्डलाई मैदानमा आउन भनेपछि उनी फिल्डिङका लागि मैदानमा प्रवेश गरेका थिए। खेलका सुरुवाती तीन ओभरसम्म उनी खल्तीमा हात राखेर फिल्डिङ गरिरहेको देखिन्थे।
खेलअघि नै विदेशी खेलाडीको सहभागितालाई लिएर विवाद भएको अवस्थामा रदरफोर्डको फिल्डिङमा भएको ढिलाइले सुदूरपश्चिमको तयारीमाथि थप प्रश्न उठाएको छ।
विराटनगर खेल्न तयार थियो : सन्दीप
विराटनगरका कप्तान सन्दीप लामिछानेले भने आफ्नो टोली खेल्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। खेलपछि उनले विराटनगरका नेपाली तथा विदेशी खेलाडी खेल्न तयार रहेको र खेल अधिकारीको निर्णय पालना गर्ने पक्षमा आफूहरू रहेको बताए।
‘हाम्रा खेलाडी र विदेशी खेलाडीहरू पनि खेल्न पूर्ण रूपमा तयार थिए। हामी खेल्न चाहन्थ्यौँ। तर अफिसियल्सले जे निर्णय गर्नुहुन्छ, हामी त्यसलाई पालना गर्छौं भन्ने थियो,’ सन्दीपले भने।उनले वर्षाका कारण दिनभर मैदानमा बसेर खेलको प्रतीक्षा गरेका दर्शक र मैदान तयार पार्न खटिएका ग्राउन्ड्सम्यानको मेहनतको सम्मान गर्नुपर्ने पनि बताए।
‘मेरा लागि सबैभन्दा महत्वपूर्ण कुरा क्रिकेट हो। दिउँसो पानी परेदेखि राति ११–१२ बजेसम्म रङ्गशालामा बसेर साथ दिने दर्शक र मैदानलाई खेल्न योग्य बनाउन निरन्तर मेहनत गर्ने ग्राउन्ड्सम्यानको कदर गर्नुपर्छ,’ उनले भने।
‘सायद विपक्षी टिमका विदेशी खेलाडीहरू तयार हुनुहुन्थेन होला, यसबारेमा चाहिँ अफिसियलसँग नै स्पष्ट जानकारी होला’ सन्दीपले थपे ।
नियम कार्यान्वयनमा क्यानको जिम्मेवारी
शनिबारको घटनाले खेल मैदानको अवस्था, खेलाडीको सुरक्षा र प्रतियोगिताको नियम कार्यान्वयनबीचको सन्तुलनबारे प्रश्न उठाएको छ। मैदान खेल्न योग्य छ वा छैन भन्ने निर्णय गर्ने जिम्मेवारी म्याच रेफ्री र अम्पायरको हुन्छ। उनीहरूले खेल गराउने निर्णय गरिसकेपछि टोलीले त्यसलाई पालना गर्नुपर्ने पारसको भनाइ छ।
तर निर्धारित कटअफ समय सकिएपछि खेल सुरु गर्ने निर्णय कसरी भयो भन्ने विषयमा क्यानले स्पष्ट पार्नुपर्ने देखिन्छ। खेलाडीको सुरक्षा र मैदानको अवस्थालाई लिएर विदेशी खेलाडीले असहमति जनाएका थिए भने त्यसको आधिकारिक आधार के थियो भन्ने पनि सार्वजनिक हुन आवश्यक छ।
नियम सबै टोलीका लागि समान रूपमा लागू हुने पारसकै भनाइअनुसार अब क्यानले शनिबारको घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्नु र आवश्यक परे नियमअनुसार प्रक्रिया अघि बढाउनु महत्वपूर्ण हुनेछ।






























