युवक कुट्ने प्रहरी निलम्बित, छानबिन समिति गठन

चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँच गर्ने क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।

‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो । घटनाको भिडियो बाहिरिएपछि छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ ।

युवक कुटपिट गर्ने असई गणेशस्थान बिटमा कार्यत बुद्धिबहादुर घर्ती भुजेल भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जनाए ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।