बाख्रा खोज्न जंगल पुगेका वृद्धलाई हात्तीले लखेटेर मार्‍यो, सप्तरीमा त्रास

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४, विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेका छन् ।

प्रहरीका अनुसार आइतबार साँझ हराएको बाख्रा खोज्न गाउँभन्दा पूर्व–उत्तरतर्फ जंगल नजिकै रहेको गोठमा जाने क्रममा चौधरीलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनीसँगै अन्य ४–५ जना पनि बाख्रा खोज्न गएका थिए ।

स्थानीय दिलीप चौधरीका अनुसार जंगल नजिक पुगेपछि हात्ती कराउन थालेको थियो । त्यस क्रममा गोपीले पनि हात्तीको जस्तै आवाज निकाल्दै ठूलो स्वरमा कराएपछि हात्तीले लखेटेर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

घटनापछि आसपासका बस्तीमा त्रास फैलिएको छ । पछिल्लो समय जंगल आसपासका क्षेत्रमा जंगली हात्तीको आवागमन बढ्दै गएपछि स्थानीय बासिन्दा थप चिन्तित बनेका छन् ।