कात्तिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने झण्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्नेको संख्या उच्च

काठमाडौं । काठमाडौं उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन्। तीमध्ये सबैभन्दा बढी चालक मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने रहेको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक १ देखि २९ गतेसम्म मापसे गरी सवारी चलाउने २ हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका छन्।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक तथा लागुपदार्थ सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले नियमित जाँच र निगरानीलाई तीव्रता दिएको छ।

मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लगायत प्रचलित कानुनी व्यवस्थाअनुसार त्यस्ता चालकलाई कारबाही गर्ने प्रावधान रहेको छ।

ट्राफिक प्रहरीले सवारीचालकलाई नियमको पूर्ण पालना गर्न, मादक तथा लागुपदार्थ सेवनपछि कुनै पनि सवारीसाधन नचलाउन र सडक सुरक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेको छ।