विश्वमै नेपालमा मात्रै पाइने दुर्लभ काँडे भ्याकुर अर्घाखाँचीमा भेटियो

अर्घाखाँची । नेपालमा मात्रै प्राकृतिक रूपमा पाइने दुर्लभ चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिका–स्थित ठाडादह क्षेत्रमा फेला परेको छ। जिल्लाको दक्षिणी क्षेत्रमा पहिलोपटक यसको उपस्थिति अभिलेख भएको डिभिजन वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केसर खड्काका अनुसार ठाडादहमा काँडे भ्याकुर देखिनु जिल्लाको जैविक विविधताका दृष्टिले महत्वपूर्ण उपलब्धि हो।

अंग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने यो चरा नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित छ। घना झाडी तथा प्राकृतिक वनस्पति भएको क्षेत्रमा बस्न रुचाउने यो चरा लजालु स्वभावको भएकाले सहजै देख्न कठिन हुन्छ।

वन विनाश र मानवीय गतिविधिका कारण यसको प्राकृतिक बासस्थान जोखिममा पर्न सक्ने भएकाले संरक्षणमा ध्यान दिनुपर्ने खड्काले बताए।

ठाडादहमा यसको उपस्थिति भेटिनुले अर्घाखाँचीको जैविक विविधता थप उजागर गर्नुका साथै पक्षी अवलोकन, अनुसन्धान र पर्यापर्यटनको सम्भावनासमेत बढाएको छ।