३ किलो २६५ ग्राम चरेससहित दुई जना पक्राउ

बझाङ । बझाङमा ३ किलो २६५ ग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको बुंगल नगरपालिका–४, बिजगडा बजारस्थित जनक कार्कीको घरबाट उक्त परिमाणको चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोस्ट बिजगडाबाट खटिएको संयुक्त गस्ती टोलीले कार्कीको घरको कोठाभित्र हरियो झोलामा सेतो कपडाले लुकाइछिपाइ राखेको अवस्थामा चरेस फेला पारेको हो।

पक्राउ पर्नेमा बुंगल नगरपालिका-४ निवासी ४३ वर्षीय जनक कार्की र वडा नं. ६ निवासी ५७ वर्षीय जितबहादुर सिंह रहेका छन्।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बझाङमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।