जेरुसेलम । इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ । एक्जिट पोलले उनका प्रतिद्वन्द्वीलाई तुलनात्मक रूपमा बलियो देखाए पनि कुनै पक्षले स्पष्ट बहुमत प्राप्त गर्ने संकेत नदेखिएकाले नयाँ सरकार गठनमा अन्योल बढेको छ ।
नेतान्याहुको लिकुड पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको देखिए पनि उनको धार्मिक तथा राष्ट्रवादी गठबन्धनले संसद्मा ५० देखि ५१ सिट मात्र जित्ने अनुमान छ । पूर्वसेना प्रमुख गदी आइसेनकोटको नेतृत्वमा रहेको विपक्षी समूहले ५१ देखि ५२ सिट प्राप्त गर्न सक्ने एक्जिट पोलको आकलन छ । संसद्मा बहुमतका लागि १२० मध्ये ६१ सिट आवश्यक पर्छ । अरब नेतृत्वका दलहरूले १९ सिट प्राप्त गर्न सक्ने अनुमान गरिएकाले सरकार गठनमा उनीहरूको भूमिका निर्णायक हुनसक्छ ।
निर्वाचन समितिका अनुसार लिकुडले २३.३६ प्रतिशत र आइसेनकोटको याशर पार्टीले १५.७४ प्रतिशत मत प्राप्त गरेका छन् । अन्तिम आधिकारिक परिणाम यसै साताको अन्त्यसम्म आउने अपेक्षा छ । नेतान्याहुले अरब दलहरूको समर्थनमा सरकार नबनाउने अडान दोहोर्याएका छन् भने आइसेनकोटले निश्चित सर्तमा सहकार्य गर्न सकिने संकेत दिएका छन् । सहमति नजुटे लामो राजनीतिक वार्ता वा पुनः निर्वाचनको अवस्था आउन सक्छ ।
निर्वाचन अभियानमा प्यालेस्टिनी राज्यको विषयले कम प्राथमिकता पाएको थियो । प्रमुख उम्मेदवारहरूले अवरुद्ध शान्ति प्रक्रिया अघि बढाउने प्रस्ताव गरेनन् । सन् २०२१ मा इजरायली सरकारको गठबन्धनमा सहभागी हुने पहिलो अरब नेतृत्वको दल रामका नेता मन्सुर अब्बासले पनि अरब समुदायमा बढ्दो अपराध र सुरक्षालाई चुनावी मुद्दा बनाएका छन् ।
सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा एक हजार दुई सय जनाको मृत्यु हुनु र २५१ जना बन्धक बनाइनुले पनि निर्वाचनलाई प्रभावित गरेको छ । नेतान्याहुका आलोचकहरूले सुरक्षा विफलताको जिम्मेवारी लिनुपर्ने र स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् । उनका समर्थकहरूले भने गाजा, लेबनान र इरानसँगका युद्धमा हासिल उपलब्धिको प्रशंसा गरेका छन् ।
अति परम्परावादी यहुदी पुरुषलाई सैनिक सेवाबाट दिइँदै आएको छुट पनि प्रमुख चुनावी मुद्दा बनेको छ । तीन वर्षदेखि जारी युद्धका कारण यस्तो छुटप्रति असन्तुष्टि बढेको छ । गाजाको युद्धमा छोरा र दुई भतिजा गुमाएका आइसेनकोटले सैनिक सेवासम्बन्धी छुट अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । एक्जिट पोलले अति परम्परावादी यहुदी दलहरूको समर्थन घटेको देखाएको छ ।
इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार यसपटक ७७.७ प्रतिशत योग्य मतदाताले मतदान गरेका छन् । यो सन् १९९९ यताकै उच्च सहभागिता हो र सन् २०२२ को निर्वाचनको तुलनामा सात प्रतिशतभन्दा बढी हो ।






























