सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको ह‌*त्या, श्रीमान् पक्राउ

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमान्को लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।

मंगलबार राति करिब १ बजे श्रीमान्–श्रीमतीबीच विवाद भएपछि ४२ वर्षीय मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीमाथि लोहोरो प्रहार गरेका थिए।

टाउकोमा लोहोरोले लागेर गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले आरोपित मनोजलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।