चितवन । बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको छ । गत वर्षको विजयादशमीको तुलनामा यस वर्ष दुर्घटना कमी आएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार यस वर्ष विजयादशमी अर्थात् असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म १२५ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको उनले जानकारी दिए ।
विसं २०८२ को दसैँमा बागमती प्रदेशका १० जिल्लामा सोही समयमा १३५ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार सो वर्ष भएका दुर्घटनामा परी ३३२ जना घाइते भएका थिए । यस वर्षमा भएको दुर्घटनामा परी २९३ जना घाइते भएका छन् ।
यस वर्ष चार्ड पर्वको समयमा सिन्धुलीमा सुमो दुर्घटना हुँदा ठूलो क्षति भएको उनले जानकारी दिए। सो दुर्घटनामा परेका तीन जना अझै बेपत्ता छन् । यस वर्षको दसैँमा काभ्रेपलान्चोकमा बढी दुर्घटना भएको उनले बताए । सारुका अनुसार यस वर्षको दसैँको समयमा ९८ वटा दुर्घटना मोटरसाइकलका कारण भएको छ । ती दुर्घटनामा परी आठ जनाको ज्यान गएको छ । मोटरसाइकलबाट हुने दुर्घटनाको जोखिम बढ्दै गएको उनले बताए ।






























