काठमाडौं । उच्च अदालत पाटनले प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘लाज शरणम’को प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपालको शैली, हाउभाउ र लवज बिना अनुमति प्रयोग गरिएको भन्दै रिट दायर गरेका थिए । चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै अदालतले फिल्मको विज्ञापन, पोस्टर तथा प्रचार सामग्रीहरू सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

























