Hotel Panchthar Nepco Media

टिकटकमा विवाद हुँदा युवकको हत्या

काठमाडौं। एक युवकको हत्या आरोपमा छिमेकीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका-८ का १८ वर्षीय दीपेन्द्रबहादुर शाहीमाथि कार्तिक ११ गते ढुङ्गा प्रहार भएको थियो ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका शाहीको कार्तिक १७ गते कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बिहीबारमात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्याको आरोपमा छिमेकी रहेकी ३० वर्षीया लक्ष्मी सुनारलाई काठमाडौंबाट पक्राउ गरेको छ । उनीसहित अहिलेसम्म ७ जना पक्राउ परेको अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदले टिकटकमा भएको विवादका कारण युवकको हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।