Hotel Panchthar Nepco Media

भाटभोटेनी सञ्चालक गुरुङले एमालेलाई दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउनका लागि दिएको कीर्तिपुरको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका संचालक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय बनाउनु भ्रष्टाचार भएको दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका हुन् ।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेको थियो । उक्त आदेशपछि बुधवार रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ।