काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपिओ बिक्री खुला गर्ने भएको छ ।
यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आइपिओ निष्कासन गर्न लागेको हो ।
इन्सुरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपिओ जारी गर्न लागेको हो । सोमध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गर्न लागेको छ ।
त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारीहरू र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।