काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ ।
बिहीबारदेखि परेको निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । यस्तै, मौसमका कारण माउण्टेन फ्लाइटसमेत स्थगित भएको छ ।
हाल बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीका साथै भारतको वनारस र कलकत्तामा उडान भर्दै आएको छ ।
यस्तै, यती एयरलाइन्सले आज सूचना जारी गरी प्रतिकूल मौसमका कारण यति एयरलाइन्सका उडान ढिलाइ र समय परिवर्तन हुनसक्ने जनाएको छ । यती एयरलाइन्सले यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि एयरलाइन्सको वेबसाइट वा मोबाइल एपमार्फत उडानको पछिल्लो जानकारी जाँच गर्न अनुरोध गरेको छ ।
भिटिविलिटी कम हुँदा यतीको पोखरा उडान हुन नसकेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। मौसमका कारण अन्य गन्तव्यस्थलको पनि उडान समयमा हुन नसकेको प्रवक्ता बर्तौलाले बताए। आन्तरिक उडान अवरुद्ध हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरूको चाप बढेको छ ।






























