विराटनगरमा बजार अनुगमन : २९ पसललाई ७ लाख जरिवाना

चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

पछिल्लो १० दिनमा भएको संयुक्त बजार अनुगमनमा विभिन्न कसुर भेटिएका २९ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । ती फर्मबाट ६ लाख ९२ हजार रुपैयाँ जरिवाना संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सञ्चालित अनुगमन अभियानका क्रममा हालसम्म ७४ वटा व्यावसायिक फर्महरूको छड्के जाँच गरिएको थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार बजार अनुगमनका क्रममा लापरबाही भेटिएपछि व्यवसायीलाई जरिवाना गरिएको थियो ।

खरिद–बिक्री खाता दुरुस्त नराख्ने तथा करसम्बन्धी मापदण्ड पालना नगर्ने १९ वटा फर्मलाई १ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

लेबल नगरिएका, रि–प्याकेजिङ गरिएका र उपभोग्य मिति गुज्रिएका सामग्री बिक्री गर्ने ५ वटा फर्मबाट ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका ३ वटा फार्मेसीलाई प्रशासनले सिलबन्दी गरेको छ ।

अनुगमनकै क्रममा विराटनगर–९ स्थित जयराम ट्रेडर्सबाट बिलबिजक नभएको ५४० किलो अवैध सुपारी बरामद गरिएको छ । उक्त फर्ममाथि थप कानुनी कारबाही अघि बढाइएको छ ।

विराटनगरमा नेपाली नागरिकको नाममा फर्म दर्ता गरी अनधिकृत रूपमा व्यवसाय सञ्चालन गरिरहेका दुई जना चिनियाँ नागरिक बजार अनुगमनकै क्रममा पक्राउ परेका छन् ।

उनीहरुलाई थप कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।  चाडपर्वको बेला उपभोक्ता अधिकार संरक्षण गर्न र कालोबजारी गर्नेहरूलाई निरुत्साहित गर्न प्रशासनले अनुगमन निरन्तरता दिइरहेको जनाएको छ ।