नेपाली कांग्रेसको सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब र प्रभावमा नपरी विवेकको मत प्रयोग अपिल गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा कोही निर्विकल्प नहुने भन्दै कांग्रेस बनाउने हुटहुटीका साथ आफू सभापति पदमा प्रतिस्पर्धी बनेको बताएका हुन् ।
‘पार्टीमा निर्विकल्प कोही पनि हुँदैन भन्ने मान्यताका साथ तपाईँ महाधिवेशन प्रतिनिधिसमक्ष उम्मेदवारको रूपमा खडा भएको छु,’ विज्ञप्तिमा खड्गीले लेखेका छन्, ‘नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखापरेका हरेक चुनौती सामना गर्न सक्षम कांग्रेस निर्माण गर्ने हुटहुटी, कार्ययोजना र तत्परतासहित महाधिवेशनको मैदानमा छु ।’
उनले निष्पक्ष र निर्भयका साथ मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरूलाई आग्रह गरेका छन् । ‘सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब र प्रभावमा नपरी विवेकको मत प्रयोग गर्न अपिल गर्दछु । साथै, निष्पक्ष र निर्भयका साथ मतदान, मतगणना र परिणाम घोषणाको प्रत्याभूति गर्न अनुरोध गर्दछु,’ खड्गीले भनेका छन् ।
यस्तै, कांग्रेस मुलुकको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी भएको बताउँदै उनले कांग्रेसले सधैं आन्तरिक र बाह्य लोकतन्त्रको पक्षमा संघर्ष गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।‘मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्रको अभ्यासलाई बलियो बनाउँदै सशक्त पार्टी निर्माण गर्ने उद्देश्यका साथ अघि सारिएको हो,’ उनले अगाडि लेखेका छन् ।






























