नेपालको दीर्घकालीन हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीलाई पौडेलको आग्रह

काठमाडौं । ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ की संयोजक कथाकार भुवन ढुंगानाले बाह्रखरी मिडियाले नेपाली साहित्यको प्रवर्द्धनका निम्ति सरकारले गर्ने काम गरेको बताएकी छन् । विश्वविद्यालय र नेपाल प्रज्ञा–प्रतिष्ठानले गर्ने काम बाह्रखरी मिडियाले गरेको उनको भनाइ छ ।

बाह्रखरी मिडियाद्वारा आइतबार काठमाडौंमा आयोजित १२खरी कथा प्रतियोगिताको आठौँ संस्करणका विजेता घोषणा तथा ‘उत्कृष्ट कथा २०८३’ को विमोचन समारोहमा उनले भनिन्, “विश्वविद्यालयको साहित्य विभाग र नेपाल प्रज्ञा–प्रतिष्ठानले गर्न नसकेको काम बाह्रखरी मिडियाले गरिरहेको छ ।”

राज्यका जिम्मेवार निकायले गर्नुपर्ने काम बाह्रखरी मिडियाले गरेको भन्दै उनले सम्बन्धित निकायले यसबाट सिक्नुपर्ने बताइन् ।

१२खरी कथा प्र्रतियोगितामा कथा छनोटको निष्पक्ष विधि र पारदर्शिता अर्को महत्त्वपूर्ण पक्ष भएको उनले उल्लेख गरिन् । छोटो समयमा यति ठूलो प्रतियोगिता गर्नु आफैँमा चुनौतीपूर्ण काम भएको उनले बताइन् ।

“मैले यो प्रतियोगितामा छनोट भएका २५ कथा र अरू २५ गरी ५० वटा कथा पढ्दा नेपाली कथा साहित्यको भविष्य उज्यालो रहेको देखेँ,” उनले भनिन्, “समाज, भवितव्य, विज्ञान, गिरिबी यी कथामा छन् ।”

समयको चिन्तन र विचार बुझ्न बाह्रखरीका २५ कथा पढ्नुपर्नेमा उनको जोड छ । १२खरी कथा प्रतियोगितालाई निरन्तरता दिन पनि उनले आयोजकलाई आग्रह गरिन् ।

p2-1795335654.jpg
बाह्रखरी मिडियाका प्रधान सम्पादक तथा अध्यक्ष प्रतीक प्रधानले साहित्य समाजको बाटो देखाउने माध्यम भएको बताए । समाजलाई सही बाटो देखाउने भएकाले साहित्यलाई राज्यका हरेक अंगले उत्तिकै सहयोग र समर्थन गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले पनि साहित्य र साहित्यकारलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उनले धारणा राखे । “साहित्य नभएको भए सायद समाज सही दिशामा जाँदैन थियो होला । अहिलेको जस्तो सभ्य र सुसंस्कृत समाज हुँदैन थियो होला,” प्रधान सम्पादक प्रधानले भने, “साहित्यले समाज र राजनीतिलाई पनि बाटो देखाउँछ । त्यसैले राज्यले यसलाई साहित्यलाई महत्त्व दिनुपर्छ ।”

साहित्यले आफूसँगै समाज र राजनीतिज्ञलाई पनि विश्वास दिलाउने भएकाले राज्यका हरेक अंगले साहित्यप्रति अपनत्व महसुस गर्नुपर्नेमा उनको जोड छ ।

१२खरी कथा प्रतियोगिता साहित्यकार र साहित्यिक वृत्तको कार्यक्रम भएको भन्दै प्रधान सम्पादक प्रधानले बाह्रखरी मिडिया सम्पर्कमाध्यम मात्र रहेको स्पस्ट पारे ।

baahrakhari-katha-(8)-1795343769.jpg
कार्यक्रममा डिश मिडिया नेटवर्क लिमिटेडका सीईओ प्रसन्न पोखरेलले साहित्यबिना ‘सिबिलाइजेसन’ सम्भव नरहेको बताए । उनले बाह्रखरीका उत्कृष्ट कथालाई सिनेमामा रूपान्तरण गर्ने प्रयास आफूहरूको रहेको बताए । “बाह्रखरीका उत्कृष्ट कथालाई सिनेमामा रूपान्तरण गरेर अझै धेरै जनतामा पुर्‍याउने हाम्रो प्रयास छ,” उनले भने ।

१२खरी कथा प्रतियोगितालाई डिश मिडिया नेटवर्कको सहयोग निरन्तर रहने उनले प्रतिबद्धता जनाए ।

surya-ghimire7-1795345524.jpg
कार्यक्रममा बाह्रखरी मिडियाका सीईओ सूर्य घिमिरेले १२खरी कथा प्रतियोगितालाई कसरी थप उत्कृष्ट बनाउने त्यसका निम्ति सुझाव र सहयोग आवश्यक रहेको बताए । समयको परिवर्तनसँगै कसरी प्रविधिमैत्री हुँदै जाने र त्यसलाई आत्मसात् गर्ने अहिलेको चुनौती भएको उनको भनाइ छ ।

विज्ञापनदाता तथा साहित्यकारको साथ, सहयोग र शुभेच्छाका कारण १२खरी कथा प्रतियोगिता आठौँ संस्करणसम्म आइपुगेको सीईओ घिमिरेले बताए ।