काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको सहज जित दर्ता गरेको छ ।
आइतबार कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो ।
नेपालका कुशलले सर्वाधिक ५७ रनको योगदान गरे । उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गरे । मयन यादवले २७ र बसिर अहमदले अविजित १८ रन बनाए ।
यूएईका मोहम्मद मोहसिनले दुई तथा उद्दिश सुरी र अंश तण्डनले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ३९.५ ओभरमा १२१ रनमै समेटिएको थियो ।
यूएईका मोहम्मद शहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले तीन–तीन विकेट लिए । नन्दन यादव, रासिद खान र ललितनारायण राजवंशीले एक–एक विकेट हात पारे ।
यही खेलमार्फत मयन यादव, राशिद खान र लोकेश बमले नेपालको सिनियर टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।
पहिलो जितसँगै नेपालले समूह ‘बी’ मा दुई अंक जोडेको छ । दुवै खेल गुमाएको यूएई अंकविहीन छ ।
नेपालले यसअघि भारत ‘ए’सँग ३०६ तथा यूएईले पाकिस्तान ‘ए’सँग ६१ रनको हार व्यहोरेका थिए । अब मंगलबार नेपालले पाकिस्तान ‘ए’ तथा यूएईले भारत ‘ए’ को सामना गर्नेछन् ।




























