काठमाडौँ । नेपाली काँग्रेसका नेता दीपक गिरीले पार्टीको १५औँ महाधिवेशनका लागि उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौँमा महाधिवेशन सुरु भएकै दिन आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। अनुभवी नेतृत्वको मार्गदर्शन र युवाशक्तिको ऊर्जालाई सँगै जोडेर पार्टीलाई नयाँ गति दिने र सङ्गठनलाई थप सुदृढ, एकताबद्ध एवं जनमुखी बनाउने लक्ष्यका साथ आफू मैदानमा उत्रिएको गिरीले बताएका छन्।
आफ्नो लामो राजनीतिक यात्रामा काँग्रेसका हरेक चुनौती, आन्दोलन र सङ्गठन निर्माणका अभियानमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै गिरीले निष्ठावान् कार्यकर्ताको रूपमा गरेको योगदान, सङ्घर्ष र अनुभवलाई आत्मसात् गरेर उपसभापतिमा दाबी पेस गरेको जनाएका छन्। अनुभव र युवा पुस्ताबीचको सहकार्यबाट पार्टीलाई मजबुत बनाउँदै आगामी दिनमा थप जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।






























