बालेनको भारत भ्रमणबारे एसडी मुनीको टिप्पणी : बागडोगरा उडानको माग चीनकेन्द्रित सुरक्षा परीक्षण

काठमाडौं । भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण देखावटी प्रस्तुति र वाचाका हिसाबले उत्कृष्ट भए पनि कुनै नयाँ ब्रेक थ्रु हुन नसकेको टिप्पणी गरेका छन्।

मंगलबार एक्समार्फत टिप्पणी गर्दै मुनीले भ्रमणको सार अपेक्षित नै रहेको र ठोस नतिजाहरू दुवै पक्षलाई स्वीकार्य खालका मात्रै रहेको उल्लेख गरेका छन्। भ्रमणका क्रममा जारी भिजन डकुमेन्ट भारतको कूटनीतिक औजार भएको उनको विश्लेषण छ।

उनले लेखेका छन्, ‘बालेनको भारत भ्रमण अप्टिक्स र वाचामा उत्कृष्ट, सारमा अपेक्षित, कुनै ब्रेकथ्रुबिनाको र ठोस नतिजामा पारस्परिक रूपमा स्वीकार्य रह्यो।’

उनले भनेका छन्, ‘भिजन डकुमेन्ट भारतको कूटनीतिक औजार हो। यसको कार्यान्वयन नेपाल र भारतबीचको राजनीतिक वातावरणमा निर्भर हुनेछ।’

अर्को पोस्टमा मुनीले भारतको बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्न गरिएको मागलाई चीनसँग जोडिएको भारतीय सुरक्षा संवेदनशीलतासँग जोडेर व्याख्या गरेका छन्। भारतले उक्त मागमार्फत चीनको सन्दर्भमा आफ्नो सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया जाँच्न खोजेको उनको दाबी छ।

‘बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतको माग चीनको सन्दर्भमा भारतको सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गरिएको थियो,’ मुनीले लेखेका छन्, ‘कम्तीमा अहिलेका लागि नेपाल त्यस सन्दर्भमा सहकार्य गर्न तयार देखिँदैन।’

प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका हुन्। भ्रमणका क्रममा दुवै देशबीच संयुक्त भिजन डकुमेन्ट जारी भएको थियो।

भ्रमणअघि नेपालले भैरहवाका लागि थप हवाई प्रवेश बिन्दु मागिरहँदा भारतले बागडोगरा उडानका लागि पूर्वी नेपाली आकाश प्रयोगको अनुमति खोजेको विषयले कूटनीतिक वृत्तमा चर्चा पाएको थियो।