काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता एवं नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का पूर्व अध्यक्ष गोविन्द भट्टराईले आगामी १५औँ महाधिवेशनमा पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। पार्टीका पूर्व केन्द्रीय सदस्य समेत रहेका भट्टराईले स्वदेश तथा विदेशमा रहेका नेता-कार्यकर्ता र शुभेच्छुकहरूको सुझाव र आग्रहलाई आत्मसात् गर्दै उपसभापतिमा लड्ने निर्णय लिएको बताएका छन्।
पार्टीलाई थप सुदृढ, परिपक्व र एकताबद्ध बनाउन आफ्नो नेतृत्वको आवश्यकता औँल्याइएकाले साथीहरूको विश्वासको सम्मान गर्दै मैदानमा उत्रिएको भट्टराईको भनाइ छ। नेविसंघको अध्यक्ष रहँदा भ्रष्टाचारविरुद्ध सशक्त अभियानको नेतृत्व गरेर इमान्दार र नैतिकवान् नेताको छवि बनाएका उनले आसन्न महाधिवेशनमा सबै पक्षको समर्थन र सहयोग रहने विश्वास व्यक्त गरेका छन्।






























